-नरेन्द्र राना
कालो रातको अँधेरीलाई
किरणका तरवारले फारेर
रक्तिम उषाको लाली बीच
सुनौलो अनुहार पारेर
बिहानै बिहानै
धरतीलाई अँगाल्न आइपुग्ने
त्यो घामको राजालाई
हो, म प्रेम गर्छु ।
झरेका पातहरूलाई
एक एक गरी गाँसेर
सुके झैं उभिएको रुखमा
मुसुक्क बैंश हाँसेर
फुलाउँदै रंगी बिरंगी फूलहरू
भमरासितै नाँचेर
चिसो सिरेटोलाई
उतै कतै छाडेर
शीत र तुषारो भुल्ने गरी
सग्बगाउँदो जीवन उमारेर
बैशकी मत्त युवती झैं
उफ्रिदैं वनको हरिण झैं
रुख, वन, बगैंचा भएर
सुन्दरता र मधुरताको
नौलो संसार खोलेर आउने
त्यो ऋतुको राजालाई
हो, म प्रेम गर्छु ।
लोभ र लालसाका
तीखा नङ्ग्रा र दाह्राले
रक्तमुच्छेल बस्तीमा
अन्याय र शोषणका
प्रताडित गर्ने कोर्राले
निलडाम परेका बस्तीमा
हिंसा र अत्याचारका
अनन्तको चक्रव्युहले
अचेत र निरीह बस्तीमा
उत्पीडन र भेदभावका
श्रृंखलाबद्ध इतिहासले
दलानमा परेका बस्तीमा
रुढी र कुसंस्कारका
बाधेर सदियौं साङ्लाले
बन्द रहेका बस्तीमा
एक मुट्ठी उठाएर
विरोधको स्वर घन्काउने
तातो रगत उमालेर
झर्झराउँदो चेतनाको मसाल जलाउने
जो आफूलाई जलाएर पनि
प्रकाश दिईरहन्छ
जो आफूलाई सकाएर
नयाँ सुरुवात गरिरहन्छ
त्यो योद्धा
या त्यो अभियन्तालाई
हो, म प्रेम गर्छु ।