नेपाल न्युज प्वाइन्ट डटकम
सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण

थलारा : चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको हो ।

साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले तीन दिन पैदल हिँडेर टोली उरै नाका पुगेको जानकारी दिँदै पाँच हजार दुई सय मिटर उचाइमा रहेको २ नम्बर पिलर र आसपासको क्षेत्रको अनुगमन गरिएको प्रतिनिधिलाई  बताए । टोलीमा छ जना सरकारी कर्मचारी, साइपालको काँडा र धुली प्रहरी चौकीबाट पाँच जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसहित १८ जना सहभागी थिए ।

बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार आगामी असार १६ गतेदेखि उरै नाका पूर्णरूपमा सञ्चालनमा हुनेछ । नाका खुलेपछि व्यापार–व्यवसायका निम्ति सीमापारि जान हालसम्म पाँच जनाले अनुमतिपत्र लिएका उनले  जानकारी दिए ।  नेपाल र चीन सरकारबीच चीनसँगका १४ नाका क्रमशः खोल्नसहमतिभएसँगै यही जेठ १२ गते तिब्बतको सिगात्सेको चेन्टाङमा आयोजित कार्यक्रममार्फत उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपध्याक्ष सिलाङ निमाले  संयुक्त रूपमा नाका पुनःसञ्चालनको घोषणा गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update