नेपाल न्युज प्वाइन्ट डटकम
व्यासको पुनः मतगणना : उच्चको आदेश बदर गर्न माग गर्दै मेयर न्यौपाने पुगे सर्वोच्च

काठमाडौं : तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना गर्ने उच्च अदालत पोखराको फैसलाविरुद्ध मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च अदालत पुगेका छन् ।

उनले बिहीबार दायर गरेको रिटकाे पेसी आइतबारका लागि तोकिएको छ । सर्वोच्चबाट अन्तिम निर्णय नभएसम्म उच्चको आदेशअनुसार  पुनः मतगणना गरिए आफूलाई अपूरणीय क्षति हुने  भन्दै उनले पहिलो सुनुवाइमै अन्तरिम आदेश दिनुपर्ने माग उनले गरेका छन् ।

एमाले समर्थनमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले निर्वाचन भएको २ वर्षपछि गत जेठ १ गते पुनः मतगणना गर्ने फैसला गरेको थियो । उच्चले असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै मिति नै तोकिदिएको थियो ।

तर उच्चको फैसला नै त्रुटिपूर्ण रहेको भन्दै उच्चको फैसला बदर गर्न माग गर्दै मेयर न्यौपानेले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेको समर्थनमा व्यासमा मेयरको उम्मेदवार बनेका जोशी नेपाली कांग्रेसका न्यौपानेसँग २५२ मतान्तरले पराजित भएका थिए । न्यौपानेले १२ हजार ७८ मत ल्याउँदा जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update