काठमाडौं : काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार पूर्वउपाध्यक्ष श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको उजुरी परेको थियो । २०८९ सालमा सकिने सम्झौता पनि बद्नियतरुपमा म्याद समाप्त नभइ नवीकरण गरेको भन्ने आरोप छ ।
बालमन्दिर) को नाममा रहेको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा हाल वृहस्पति विद्या सदनले भाडामा लिएको छ । वृहस्पतिले भाडामा लिएकोमध्ये ५ रोपनी जग्गा राई स्कुललाई २०७६ सालदेखि भाडामा दिएको छ ।
२०५९ सालमा उक्त जग्गा २०८९ सालसम्म भाडामा लिनेदिने सम्झौता भए पनि उक्त अवधि सकिन १७ वर्ष बाँकी हुँदै २०७२ साल साउन ३ गते थप ३८ वर्षका लागि सो जग्गा वृहस्पति विद्या सदनले भोगचलन गर्न पाउने गरी सम्झौता भएको छ ।
जग्गामा विभिन्न गतिविधि सञ्चालन गरेको आरोपमा वैशाख २७ गते २० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । तत्कालीन अध्यक्ष रिता सिंह, महाचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, मनोहरगोपाल श्रेष्ठविरूद्ध पुर्जी जारी भएको थियो ।