नेपाल न्युज प्वाइन्ट डटकम
लागुऔषध कारोबारीलाई हिरासतबाट भगाएर फरार भएका प्रहरीका पूर्वजवान १६ वर्षपछि पक्राउ

काठमाडौं : लागुऔषध कारोबारीलाई हिरासतबाट भगाएको आरोप लागेका प्रहरीका पूर्वजवान १६ वर्षपछि पक्राउ परेका छन् । लागुऔषधसहित पक्राउ परेका एक भारतीय नागरिकलाई हिरासतबाट भगाएर आफू पनि फरार भएका पूर्वप्रहरी जवान विरवल राय यादव १६ वर्षपछि पक्राउ परेका हुन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले नेपाल–भारत सिमानाको काकडभिट्टाबाट माघ ११ गते पक्राउ गरेको हो । यादवले २०६४ साल महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका भारतको रक्सौल घर भएका ३९ वर्षीय असरफ आलमलाई भगाएर आफू पनि फरार भएका थिए ।

जेलबाट भगाउन यादवले त्यतिबेला अशरफसँग १ करोड रूपैयाँ मागेको र पछि १० लाखमा कुरा मिलेपछि यादवले असरफलाई भगाएको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । तर भागेपछि असरफले यादवलाई त्यसबेला ६ लाख २५ हजार रुपैयाँ मात्र दिएको अनुसन्धानमा खुलेको एसपी रेग्मीले बताए ।

 त्यो रकमबाट यादवले भारतको कलकत्तामा दुईवटा ट्याक्सी खरिद गरी चलाउन शुरु गरेका थिए । अहिले उनीसँग नौ वटा ट्याक्सी, भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्स समेत रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि एसपी रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update