काठमाडौं : वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाइदिन्छु भन्दै तीन सय जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवनको भरतपुर महानगरपालिका वडा नं. १८ घर भइ हाल काठमाडौंको टोखा बस्ने २८ वर्षीय राजकुमार भट्ट, कास्कीको पोखरा महानगरपालिका वडा नं. ८ घर भइ हाल चितवनको भरतपुर महानगरपालिका वडा नं. ८ बस्ने पवन पन्त र कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ९ बस्ने २२ वर्षीय नविन विक रहेका छन् ।
उनीहरूले विगत तीन देखि चार वर्षका अवधिमा ३०० भन्दा बढी व्यक्तिलाई वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै १५ करोड रकम ठगी गरेको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिए ।
यो समूहले फेसबुक म्यासेन्जर, ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा फेक आइडी बनाएर आकर्षक तलब भत्ता पाउने गरी रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाउने विज्ञापन गरे एसएसपी भट्टराईले बताए ।
उनीहरुले त्यसका आधारमा सम्पर्कमा आएकाहरुलाई बैंक खातामा निश्चित रकम जम्मा गर्न लगाउने गरेका थिए । त्यसपछि भिसा, वर्क परमिट, होटल बुकिङ, पुलिस रिपोर्ट लगायतका नक्कली कागजात तयार पारेर ५ देखि १० लाख रुपैयाँसम्म उठाउने र सम्पर्कविहीन हुन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।