नेपाल न्युज प्वाइन्ट डटकम
देशको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्ण : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताएका छन् । सिल्क रोड इन्टरनेसनल थिङ्क ट्याङ्क एक्स्चेन्ज सेन्टर, चीनको बेइजिङ भाषा तथा सांस्कृतिक विश्वविद्यालय र साइनो नेपाल मिडिया सोसाइटीले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै उनले पूर्वाधार नेपाल–चीन सहकार्यका आधारस्तम्भका रुपमा रहेको बताए । 

उपप्रधानमन्त्री श्रेष्ठले सडक, पुल र ऊर्जालगायत ठूला परियोजनाबाट बढाइएको ‘कनेक्टिभिटी’ले द्विपक्षीय सम्बन्धलाई मात्र बलियो बनाउनाका साथै क्षेत्रीय सहयोग र आपसी एकतामा पनि महत्वपूर्ण टेवा दिएको बताए । “दुई मुलुकबीच आपसी सम्बन्ध अभिवृद्धि गर्न सांस्कृतिक आदानप्रदान शक्तिशाली माध्यम हुन्”, उनले भने, “साझा सांस्कृतिक सम्पदा तथा सदियौँदेखिका परम्पराले पारस्पारिक समझदारी कायम गर्न बलियो आधार प्रदान गरेको छ ।”

नेपाल र चीनबीचको दीर्घकालीन सामाजिक–आर्थिक सम्बन्ध साझा विकासको दृष्टिमा अनुपम नमूना भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले दिगो विकास र समावेशी समृद्धिको लक्ष्य प्राप्तिमा आपसी प्रयास आवश्यक रहेकामा जोड दिए । 

चीनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) अवधारणा दक्षिण एसियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधनका रुपमा उभिएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआईले जोड दिएको बताए । “दक्षिण एसियाली क्षेत्रमा नयाँ सम्भावना खोल्ने, व्यापारलाई सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने विषयलाई बिआरआईले परिकल्पना गरेको छ, नेपालजस्ता राष्ट्रका लागि यी पहलले आर्थिक रुपान्तरण गर्न सहज हुन्छ”, उनले भने । 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update