नेपाल न्युज प्वाइन्ट डटकम
माओवादी घटकबीच एकता अपरिहार्य : प्रधानमन्त्री

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको संघर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।

माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आज शहीद प्रतिष्ठान नेपालको १४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गरे । 

“देशभरका माओवादी आन्दोलनका सबै कित्ताका सहकर्मीलाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु”, विभाजित भएर लक्ष्यमा पुग्न नसिकनेतर्फ संकेत गर्दै उनले भने । जनयुद्धका शहीद, बेपत्ता तथा घाइतेलाई राज्यले कुनै न कुनै रूपमा सम्बोधन गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनयुद्धका घाइतेको पुनः वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । 

“कतिपय अझै घाइतेका रूपमा सूचीकृत हुन छुटेको भन्ने छ, उहाँहरूलाई घाइतेको सूचीमा समावेश गरिन्छ”, अध्यक्ष दाहालले भने, “शहीद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेको छ, त्यसलाई सिङ्गो पार्टी पङ्क्तिले आत्मबोध गर्नुपर्छ ।”

प्रतिष्ठानका संरक्षकसमेत रहेका अध्यक्ष दाहालले प्रतिष्ठानले सञ्चालन गरेको विद्यालयको पहिचान हुने गरी राज्यले जिम्मामा लिने विश्वास दिलाए । सदनमा पेस भएको विद्यालय शिक्षा विधेयकले पनि त्यस्ता विद्यालयलाई समेट्ने उनको भनाइ थियो । 

शहीदलाई विभाजन गर्न हुँदैन भन्ने मनसायअनुसार प्रतिष्ठान एकताबद्ध रहेको उल्लेख गर्दै उनले अब सबै माओवादी विचारधारा केन्द्रीकृत हुने विश्वास व्यक्त गरे । “समान त्याग र बलिदान गरेका सपुतहरू एउटै केन्द्रमा आबद्ध हुने अवस्था आउँदैछ, वैज्ञानिक समाजवादका उद्देश्य बोकेका सबैलाई एकै ठाउँमा ल्याउन प्रतिष्ठानको पनि प्रयास होस्”, उनले भने, “त्यही एकताको पाटोबाट नयाँ पुस्ताको नेतृत्व पैदा हुनेछ ।”

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update