
काठमाडौं : सहकारी ठगी प्रकरणमा पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष भूपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध पनि डिफ्युजन नोटिस नारी भएको छ ।
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासचिवालयले आइतबार सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । यसअघि शुक्रबार सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी (गितेन्द्रबाबु) राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जीबी राईसहित भूपेन्द्र, थानबहादुर र शिवबहादुर गुरुङ (महेन्द्र भोटे)विरुद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि भन्दै प्रहरी प्रधान कार्यालय नक्साललाई गत पुस ५ गते पत्राचार गरेको थियो । डिफयुजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीहरुको खोजी गर्ने र फेला परेको बेला नेपाल फर्काउने प्रक्रिया शुरु गर्नेछन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् । सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।