
काठमाडौं : काठमाडौं महानगरपालिकाले शिक्षा शाखा प्रमुख सिताराम कोइरालालाई स्पष्टीकरण सोधेको छ । मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेको पाइएपछि मेयर बालेन शाहले स्पष्टीकरण सोधेका हुन् ।
पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर शाहको सचिवालयले जनाएको छ ।
महानगरले सो विद्यालयलाई अनुमति दिने निर्णय नै नगरेको तर कोइरालाले पत्र लेखेको पाइएपछि उनलाई सपष्टीकरण सोधिएको हो ।
यो विषयमा शिक्षा समितिले निर्णय नै नगरेको, तर शिक्षा शाखा प्रमुखले कक्षा सञ्चालनको अनुमति दिएको भन्दै उजुरी परेको थियो ।
उजुरीपछि महानगरले गरेको अनुगमनको क्रममा कक्षा ११ को कक्षा सञ्चालन गरेको पाइएको थियो ।
कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए । तर शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएको शाहको सचिवालयले जनाएको छ ।