नेपाल न्युज प्वाइन्ट डटकम
छायानाथका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारुसहित १० जनाविरुद्ध २८ लाख ६२ हजार ४५९ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

नगरपालिकाको वडा नं. ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अर्डिनरी स्वाय, हार्ड रक कटिङ गर्नुपर्ने भनी कामको बढी मूल्यांकन गराइ नापी किताब, प्राविधिक विल र कार्य सम्पन्नको प्रतिवेदन तयार पारी सो रकम भुक्तान गरिएको देखिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सारुसहित हस्त बहादुर मल्ल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लले सम्झौता विपरीत प्रतिवेदन तयार पारेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यससँगै, सडक निर्माण अनुगमन समितिका सदस्य चक्रबहादुर सावत, सदस्य हजर कला कामी र इन्जिनियर महेश सिंह कठायतले द्विपक्षीय सम्झौता तथा प्राविधिक इष्टिमेट अनुसार कार्य सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन दिएको र सोही नगरपालिकाको वडा नं. ८ का अध्यक्ष कर्ण रावल र तत्कालीन सदस्य पशुपति शाहीले सम्झौता अनुसार कार्य सम्पन्न भएको भनी गलत सिफारिस दिई भ्रष्टाचार गरेको आरोप लागेको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय तथा जरिवानाको मागदाबी लिइ सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update