काठमाडौं : सरकारले आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीहरूको माग सम्बोधनका लागि सहजीकरण गर्न समिति गठन गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिव सदस्य छन् । अतिरिक्त समय काम गरेको पारिश्रमिक नपाएको भन्दै संघीय संसदका कर्मचारीहरू आन्दोलनमा छन् । उनीहरुले संसद बैठकमा ‘ब्ल्याक आउट’ गर्दा संसद बैठक नै प्रभावित हुँदै आएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा शीर्ष नेताहरूलाई बोलाएर कर्मचारीका मागका बिषयमा छलफल गरेका थिए ।
छलफलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन, कानुन, न्याय मन्त्री पदम गिरी, मुख्य सचिव डा. वैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डे उपस्थित थिए ।