नेपाल न्युज प्वाइन्ट डटकम
मामाद्वारा भान्जाको घरबाट दुई करोड लुटपाट, चार जना पक्राउ

काठमाडौं  : प्रहरीले २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा ४ जनालालाई पक्राउ गरेको छ । भक्तपुर दधिकोटका डिल्लीराज राउतको घरबाट २ करोड रुपैयाँ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुजन रसाइली, भीम तामाङ, मुनाराज राई, कृष्णबहादुर बोहरालाई पक्राउ गरेको हो ।  उनीहरुलाई आजै पत्रकार सम्मेलनमार्फत सार्बजनिक गरिएको छ । 

असार ४ गते रकम लुटपाट गरेको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । मुख्य योजनाकार भनिएका व्यक्ति कुलबहादुर खत्री भने फरार छन् । उनी डिल्ली राउतका मामासमेत हुन् ।

भान्जा डिल्ली रावतको घरमा पैसा छ भन्ने जानकारी पाएका मामा कुलबहादुर खत्रीले सुजन रसाइली, भीम तामाङ, मुनाराज राई, कृष्णबहादुर बोहरा समेतलाई योजनामा सामेल गराई लुटपाट गरेका थिए । 

सीआइबी प्रहरी हुँ भन्दै रावतको घरभित्र पसेका उनीहरुले डर त्रास देखाई दराजमा राखेको पैसा र खुकुरी समेत लुटेका थिए । उनीहरुले  लुटेको रकम ५ जनालाई भाग लगाएका थिए। 

आरोपी सुजन रसाइली यसअघि पनि ठगी,कुटपिट र अभद्र व्यवहार गरेको आरोपमा कारबाहीमा परेका थिए । 

पक्राउ परेका उनीहरुको साथबाट नगद ३६ लाख ३६ हजार रुपैया,घटनामा प्रयोग भएका २ वटा पल्सर मोटरसाइकल,मोबाइल १० थान,लुटिएको रकम बोक्ने झोला २ थान,लुटपाट गर्दा लगाएको कपडा,जुत्ता र खुकुरीसमेत बरामद गरिएको थियो। 

पक्राउ परेका ४ जनालाई थप अनुसन्धानका तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update