नेपाल न्युज प्वाइन्ट डटकम
अष्ट्रेलियमा फिल्म 'चित्रा'को रेड कार्पेट प्रिमियर हुने

काठमाडौ‌ं : बाबुछोरीको पारिवारिक कथा बोकेको 'चित्रा' फिल्मको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने भएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्मको फेब्रुअरी ९ तारिकमा अष्ट्रेलियाको तासमानिया राज्यको भिलेज सिनेमाज् इस्टल्यान्डस, रोसनी पार्कमा प्रमियर हुनेछ ।

निर्माताबाट अभिनेतामा डेब्यू गरेका सन्तोष अधिकारीले सो प्रिमियरमा सो शहरका मेयरसहित केही कलाकारहरु समेत सहभागी हुने जानकारी दिएका छन् । फिल्मबाट मिलेको प्रतिक्रियाबाट हौसिएका अधिकारीले आफ्नो कर्मभूमि अष्ट्रेलियाका फिल्ममेकरले जन्मभूमि नेपाललाई आफ्नो छायाँकन गन्तव्यका रुपमासमेत चिनुन् भन्ने उदेश्यले सिनेमाको प्रिमियर गर्न लागिएको जानकारी दिए । उनले पर्यटनलाई पनि केही टेवा मिल्न सक्ने बताए । उनले यसलाई आफ्नो देशका लागि गरेको व्यक्तिगत प्रयास भनेका छन् ।

सो प्रिमियरको टिकटदर ३० अष्ट्रेलियन डलर तोकिएको छ । नेपालको झल्को दिने प्रिमियरस्थल तास्मानियामा भूटानी नेपालीसहितका नेपालीहरुको उल्लेखनीय बसोबास रहेको छ ।

घनश्याम लामिछाने निर्देशित फिल्म पुस २७ गते शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको थियो । पुस २२ गते गरिएको प्रिमियरमा फिल्मले प्रशंसा बटुलन सफल भएको थियो । यो फिल्ममा डेब्यू अभिनेता सन्तोषका अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ । महेश पौडेलको छायाँकन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवम् संवाद लेखन छ ।

चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । यस्तै फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् । फिल्ममा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन रहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update