काठमाडौं : सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा रहेको लालीगुराँस सहकारीका अध्यक्ष, कोषाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसमेत चार जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका वडा नम्बर १३ घर भइ चुनदेवी बस्ने सहकारीका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ घर भइ ललितपुर २५ भैसेपाटी बस्ने ४६ वर्षीय प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहकारीका कोषाध्यक्ष लाजिम्पाटका ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगर ११ का ६१ वर्षीय कदमबाबा जोशी प्रधान रहेका छन् ।
उनीहरूमाथि तीन करोड रुपैयाँ सहकारीको बचत रकम ठगी गरेको आरोप छ । यो सहकारीमा २२ हजार जना बचतकर्ता छन् भने जम्मा निक्षेप ६ अर्ब ३० करोड रुपैयाँ छ ।
उनीहरूले आकर्षक ब्याज दिने, चाहिएको बेला बचत झिक्न पाइने विश्वास दिलाइ बचतकर्ताहरूलाई हानि नोक्सानी पुर्याइ, सञ्चालकहरूलाई लाभ दिएको प्रहरीले बताएको छ ।