काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ । सीआईबीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अवैध सुन तस्करीमा संलग्न व्यक्तिहरूले ७ वटा विभिन्न डमी कम्पनीहरू खडा गरेर ५ वटा कम्पनीहरूबाट अवैध सुन तस्करी गरेको खुल्न आएको हो ।
डमी कम्पनीबाट इलेकट्रोनिक मालवस्तु तथा ब्रेक सुमा लुकाएर गरी कुल ३ हजार १९४.६६८ के.जी अवैध सुन चोरी पैठारी गरेको देखिएको छ । यसमध्ये २ हजार ८३१.८९ केजी सुन पानी तान्ने मोटर लगायतका इलेक्ट्रोनिक सामानमा र बाँकी अरु ३६२.७७८ केजी ब्रेक सुमा लुकाएर तस्करी गरेको पाइएको छ । यो समूहले तस्करी गरेको कुल सुनको हालको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ बराबर भएको सीआईबीले जनाएको छ ।
सीआईबीका अनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ७१६.८३ केजी, दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १७२.८ केजी र रेडी ट्रेड प्रालीमार्फत ७.५ केजी सुन तस्करी भएको पाइएको छ।
६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप २० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना चिनियाँ नागरिकसमेत रहेका छन् । यहि समुहको संलग्नतामा अवैध सुन तस्करीको अनलाइन भुक्तानी भएको खुल्न आएको प्रहरी प्रतिबेदनको निष्कर्ष छ ।
अवैध सुनको भुक्तानी प्रक्रियामा नेपालका पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडका खातामा रकम जम्मा गरी अवैध सुनको भुक्तानी भएको सीआईबी प्रमुख श्याम ज्ञवालीले बताएका छन् ।
३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बिगो दाबीसहित उनीहरूलाई संगठित अपराध निवारण ऐन, २०७० को दफा २२ एवम् मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप अनुसन्धान गर्ने गरी मिति २०८०-०५-३१ गते अभियोगपत्र दायर भएको छ ।