नेपाल न्युज प्वाइन्ट डटकम
रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला

सर्लाही : बाल यौन दुराचारमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

यसअघि न्यायाधीश भण्डारीको इजलासले १० असारमा बम्जनलाई दोषी ठहर गरेको थियो र सजाय निर्धारणका लागि सोमबारका लागि पेशी तोकिएको थियो ।

बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेकामा उनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update