काठमाडौं : सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकाली अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले अर्को छलफल नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो ।
साथै अदालतले असार २१ गतेका लागि दुवै पक्षसँग छलफलका लागि बोलाएको छ ।
सर्वोच्चले कारण देखाऊ आदेशसँगै सरकार र अन्य विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ ।
सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेपछि यस विरुद्धमा सन्तोष नारायण श्रेष्ठ सर्वोच्चमा रिट दायर गरेका थिए ।
अध्यक्षका लागि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो ।
गत माघ ४ गते गठित सिफारिस समितिले अध्यक्षमा आवेदन माग गरेपछि १९ जनाले आवेदन दिएका थिए ।
समितिले तीमध्ये पाँच जनाको नाम सर्टलिस्ट गरी कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको थियो । पाँचमध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ उपस्थित भए भने डा. नवराज अधिकारी, चीरञ्जीवी चापागाईं र कृष्णबहादुर कार्की भने अनुपस्थित भएका थिए ।