नेपाल न्युज प्वाइन्ट डटकम
हिमाली जिल्लाहरुमा हिमपात

काठमाडौं : हुम्लासहित हिमाली जिल्लाहरुमा हिमपात भएको छ । बिहीबार बिहानैदेखि हुम्लासहित हिमाली जिल्लाहरुमा हिमपात भएको हो । गत वर्ष माघबाट हिमपात शुरु भए पनि यस वर्षको पहिलो हिमपात माघ १८ गते भएको हो । हिमपातसँगै अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । हिमपातले हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध भएको छ । 

हुम्लाको माथिल्लो क्षेत्र नाम्खा गाउँपालिकाको लिमी, यारी, चाला क्षेत्रमा पनि भारी हिमपात भएको छ । लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसानहरू हिउँ पर्न थालेपछि खुसी भएको स्थानीय प्रेम  शाहीले  बताए । हिउँदे वर्षा र हिमपातले खेतीपाती र पशुपालनलाई तत्काल असर गरेको जस्तो देखिए पनि यसले पछि राम्रो गर्ने उनकाे भनाइ छ ।

नाम्खा गाउँपालिका लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायतका स्थानमा बढी हिमपात भएको छ । सिमकाेट गाउँपालिकाको ८ वटै वडामा हिमपात भएकाे छ । त्यस्तै खार्पुनाथ, सर्केगाडा, चंखेली, अदानचुली र ताजाकाेट गाउँपालिकामा भने उच्च स्थानमा हिमपात र हाेचा खाेंचमा पानी परिरहेकाे छ । बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको छ ।

यस्तै जुम्लामा पनि बिहीबार बिहानैदेखि हिमपात भएको छ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जुम्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुकाम खलङ्गासहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको बताइएको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update