नेपाल न्युज प्वाइन्ट डटकम
लामो अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरिएको हो, कीर्ते कागज र ठगीअन्तर्गत कारबाही हुन्छ : सीआईबी

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) तीन महिना लामो अनुसन्धानपछि मात्र बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा तीन जनालाई पक्राउ गरेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै सीआईबीले सो कुरा बताएको हो ।

सीआईबीले बिहीबार व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापासहित तीन जनालाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध कीर्ते कागज र ठगीअन्तर्गत कारबाही अघि बढाउने सीआईबीले बताएको छ ।

उनीहरूमाथि छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारी निर्णयबिना नै व्यक्तिका नाममा दर्ता गरेको आरोप छ । 

थापाले १० भदौ २०४३ मा अरुण चौधरी समेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर कम्पनी खोल्न प्रबर्धन सम्झौता भएको थियो । सम्झौताअनुसार जारी पुँजी ५० लाख रहेको त्यो कम्पनीमा अरुण चौधरी समूहको ५१ प्रतिशत, बाँसबारीको २५ प्रतिशत र सार्वसाधारणको २४ प्रतिशत शेयर हुनेपर्ने हो ।

तर १२ लाख ५० हजार लगानी गर्नुपर्ने छालाजुत्ताले २६ लाख बढी लगानी गरेको पाइएको छ । चौधरी समूहले ८ लाख मात्र लगानी गर्‍यो भने सर्वसाधरणको शेयर नै खुलाइएन । सम्झौता अनुसार बाँसबारीको १० रोपनी जग्गा लिएपछि च्याम्पियन फुटवेयर कम्पनी नै बन्द भएको पाइएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update