
काठमाडौं : निर्वाचन आयोले उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । रिक्त भएका २३ पदमा उपनिर्वाचन गर्ने तयारी गरिएको भन्दै आयोगले सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको मिति तोकिनुअघि नै छुटेका र उमेर पुगेकाले नामावली दर्ता गर्न आह्वान गरेको हो ।
विसं. २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका देहाय बमोजिमका २३ पद रिक्त भएको जनाउँदै आयोगले उक्त पदहरूमा कानूनबमोजिम उपनिर्वाचनमार्फत पदपूर्ति गर्नुपर्ने अवस्था रहेको बताएको छ ।
आयाेगले रिक्त स्थानकाे पदपूर्ति गर्न नेपाल सरकारसँग परामर्श गरी कानूनबमाेजिम निर्वाचनकाे मिति ताेक्नेगरी आन्तरिक तयारी शुरु गरेकाे छ । मतदाना नामावली ऐन, २०७२ काे दफा ४ (२) बमाेजिम निर्वाचनकाे मिति ताेकिएपछि साेही मितिदेखि उक्त निर्वाचन प्रायाेजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेकाे छ ।