
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको नि:शुल्क पार्किङ बन्द नहुने बताएका छन् ।
सहरी विकास मन्त्रालयले धरहराको निर्माण सम्पन्न नभइसकेकाले निःशुल्क पार्किङ रोक्न माघ १४ गते काठमाडौं महानगरपालिकालाई पत्र पठाएको थियो । सोही पत्रको जवाफमा सामाजिक सञ्जालमा एक पोष्ट गर्दै मेयर बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको टिप्पणी गर्दै पार्किङ बन्द नहुने बताएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गर्दा दिएको अभिव्यक्तिको स्मरण गराउँदै बालेनले 'धरहरा नबनेको भए म बीसौं तलामा कसरी पुगें’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्न उपयुक्त हुने बताएका छन् ।
उनले भनेका छन्, ‘आज भन्दा दुई वर्ष ९ महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट सेतो टावर उद्घाटन भयो । सोही उद्घाटनलाई काठमाडौंका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले भन्नुभएको थियो–आज एक ऐतिहासिक काम सम्पन्न भएको छ । राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे । तर केही दिनअगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ– धरहरा निर्माण हुँदैछ । पार्किङ बन्द गर्नू, पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा ‘नबनेको भए म बीसौं तलामा कसरी पुगें’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’
उनले अगाडि भनेका छन्, ‘संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ। निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृत्तिलाई निरूत्साहित गरौं, सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र सहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौं ।’