नेपाल न्युज प्वाइन्ट डटकम
कोशी सरकारबाट बाहिरिँदै माओवादी

काठमाडौं : कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी) केन्द्र बाहिरिने भएको छ । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै कोशी प्रदेशबाट माओवादीले बाहिरिने तयारी गरेको हो ।

कोशी प्रदेशमा एक जना राज्यमन्त्रीसहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्री, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री, वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री रहेका छन् ।

संविधानको धारा १६८(५) अन्तरगत एमालेका ३९ र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा हिक्मत कुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

केन्द्रीय गठबन्धन अनुसारको नयाँ सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ ।  केन्द्रमा माओवादी प्रतिपक्षमा पुगे पनि कोशी प्रदेशबाट भने मुख्यमन्त्रीकै आग्रहमा सरकारबाट राजीनामा दिएका थिएनन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update