नेपाल न्युज प्वाइन्ट डटकम
नेपाल बन्यो 'खुद विद्युत निर्यातकर्ता'

काठमाडौं  : नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । भारतीय बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युतको खूद निर्यातकर्ता मुलुक बनेको हो  । 

नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ । त्यस्तै प्राधिकरणले गत आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । 

शुख्खायाममा खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट १ अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको हो ।

गत आवमा आयातभन्दा १२ करोड २३ लाख रुपैयाँको बढी विद्युत् भारततर्फ निर्यात भएको छ । निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले नेपाल खुद निर्यातकर्ता बनेको छ ।

आगामी केही वर्ष अझै हिउँद महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नु परेतापनि अब निर्यातको परिमाण बढ्दै जाने प्राधिकरणले बताएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update