नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सर्‍यो

काठमाडौं : संसदीय सुनुवाइ समितिको बैठक सरेको छ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न सोमबार बिहान ११ बजे बोलाइएको समितिको बैठक सरेको हो ।

दलहरु आन्तरिक छलफलमा रहेकाले बैठक ५ बजेका लागि सारिएको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेय जानकारी दिए ।

प्रस्तावित आयुक्त प्रधानलाई यौन दुर्व्यहारको आरोप लागेको छ । संवैधानिक निकायमा जिम्मेवारी पाउने व्यक्ति उच्च नैतिक चरित्रको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

उच्च नैतिक चरित्रको हुनुपर्ने पदमा यौन दुर्व्यवहारको आरोप लागेको व्यक्ति भएको  अवस्थामा यसअघि तय भएर पनि प्रधानको सुनुवाइ रोकिएको नेताहरु बताउँछन् । 

यसबीचमा समितिका केही सदस्यले आफ्नो पार्टीका शीर्ष नेतृत्वसँग समेत छलफल गरेका छन् ।

यसअघि प्रधानको सुनुवाइ असार २१ गतेका लागि तय भएको थियो । असार २० गते प्रधानविरुद्ध उजुरी दिने उजुरीकर्ता र प्रधानले आफूलाई यौन दुर्व्यवहार गरेको बताउने महिलाको कुरा सुनेपछि समितिले अनुमोदनको मिति अनिश्चित कालका लागि स्थगित गरेको थियो ।

समितिले उजुरी आह्वानगरेको समयमा प्रधानविरुद्ध आफ्नै कार्यालयमा कार्यरत महिलामाथि सन् २०१७ देखि २०२२ सम्म लगातार यौन हिंसा गरेको आरोपमा चारवटा उजुरी परेका थिए । समितिले गत असार १९ गते पीडित महिलालाई नै बोलाएर उजुरी र घटनाको बारेमा सोधपुछ गरेको थियो ।

गत असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसको पत्र परिषदले असार ४ गते सुनुवाइ समितिमा पठाएको थियो ।

असार ४ गतेबाट ४५ दिनभित्र संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने वा नगर्ने निर्णय गरिसक्नुपर्छ । अन्यथा, स्वतः नियुक्त हुने कानुनी व्यवस्था छ । यसअनुसार अब पाँच दिनभित्र अर्थात, १७ गतेसम्म प्रधानको अनुमोदन हुने वा नहुने संसदीय सुनुवाइ समितिले निर्णय गरिसक्नुपर्छ ।

राप्रपाका सांसद पशुपति शमशेर ज.ब.राले जेष्ठ सदस्यको रुपमा नेतृत्व गर्दै आएको संसदीय सुनुवाइ समितमा कांग्रेसबाट ढुँगानासहित श्यामकुमार घिमिरे, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

नेकपा एमालेबाट  महेश कुमार बर्तौला, सुनिता बराल, ईश्वरी घर्ती र लिलानाथ श्रेष्ठ छन् । माओवादी केन्द्रबाट जग प्रसाद शर्मा  र जनार्दन शर्मा सदस्य छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल छन् । यसअघि स्वर्णीम वाग्ले थिए । वाग्लेको सट्टा रास्वपाले अर्यालललाई पठाएको हो । जनता समाजवादी पार्टी, नेपालबाट प्रकाश अधिकारी छन् भने राप्रपाका राणा रहेका छन् । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update