नेपाल न्युज प्वाइन्ट डटकम
सहकारीको रकम अपचलन गरेर विदेश गएका १८ जनालाई स्वदेश फर्काउन निर्देशन

काठमाडौं : सहकारी छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भएर विदेशमा रहेकाहरूलाई स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जनालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

समितिले सूर्यदर्शन सहकारीका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसीलाई स्वदेश फर्काउन निर्देशन दिएको छ । यस्तै सुमेरु सहकारीको रकम अपचमलनमा संलग्न भएको आरो लागेका भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको छ ।

शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

समितिले कारागार र थुनामा रहेका २४ जना सोधखोज गर्नुपर्ने देखिएको भन्दै सोधपुछ गर्नुपर्नेहरुको नाम गृहमन्त्रीलाई दिएको छ ।

बैठकमा गुण कोअपरेटिभका सञ्चालक राजेन्द्र शाक्यले बचतकर्ताको रकम फिर्ता गरेको जनाकारी दिएको सभापति सूर्यबहादुर थापाले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update