काठमाडौं : नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको चौथो तथा लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
नेपालले पहिलो सेटमा माल्दिभ्सलाई २५-८ ले पराजित गर्यो । दोस्रो सेटमा नेपाल २५-१९ ले विजयी भयो । यस्तै तेस्रो सेटमा नेपालले २५-१८ को जित निकाल्यो ।
यस जितसँगै नेपाल ९ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भारत १० अंकका साथ शीर्ष स्थानमा रहेको छ भने इरान ८ अंकका साथ तेस्रो स्थानमा रहेको छ । श्रीलंका चौथो स्थानमा रहँदा माल्दिभ्स जितविहीन बनेको छ ।
यससँगै नेपालले सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्ने भएको छ । यस्तै अर्को सेमिफाइनलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ ।