नेपाल न्युज प्वाइन्ट डटकम
बेचन झाविरुद्ध अदालतमा मुद्दा दर्ता, दिए इन्कारी बयान, पोलिग्राफ गराउन मानेनन्

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाविरुद्ध पूरक अभियोग दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी, लिखत किर्ते, राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो ।

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा झाबाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने सरकारी मागदाबी छ । मुलुकी अपराध संहिता–२०७४ को दफा २५४ बमोजिम प्रतिवादीबाट पीडितहरूलाई रकम भराउन मागदावी लिइएको छ । 

तर अदालतमा दायर अभियोग पत्रमा समावेश झाको बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् । उनले आफूविरुद्ध बयान दिने कसैलाई पनि नचिनेको पनि बताएका छन् । झालाई नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरेर १५ असारमा नेपाल ल्याएको थियो ।

यस्तै झाले पोलिग्राफ जाँच गराउन नमानेको पनि खुलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसन्धान अधिकृतहरुले उनको बयानबारे सत्यता परीक्षण गर्न पोलिग्राफ जाँच गराउने कोसिस गरे पनि नमानेको खुलेको हो ।

झाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दासँगै उनले पोलिग्राफ परीक्षण गर्न नमानेको व्यहोराको प्रतिवेदन पनि समावेश गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update