नेपाल न्युज प्वाइन्ट डटकम
अदालतले फैसला नगरेसम्म भ्रष्टाचार आरोपीलाई निलम्बन नगरौं : प्रचण्ड

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियारले मुद्दा दायर गर्नेबित्तिकै निलम्बन हुने व्यवस्थामाथि व्यापक छलफलको आवश्यक रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथिको छलफलमा उनले यस्तो बताएका हुन् ।

भ्रष्टाचारका आरोपीलाई अदालतले फैसला नगरेसम्म निलम्बन गर्न नहुने उनको तर्क छ । हदम्याद कति समय राख्ने वा नराख्ने विषयमा छलफल गरेर निष्कर्षमा पुग्नु पर्ने उनको भनाइ छ ।

उनले भने, ‘मुद्दा दर्ता गर्ने बित्तिकै निलम्बन हुने कुरा ठिक छ कि छैन ? अदालतले टुंगो नलगाएसम्म टुंगिएको  मानिँदैन । अदालतमा मुद्दा दायर हुने बित्तिकै पदाधिकारी निलम्बित हुन्छ पछि फैसला गर्दा निर्दोष ठहर्‍याउँछ । त्यो बीचको क्षतिपूर्ति के हुन्छ भन्ने विषय जटिल छ । मान्छे निलम्बित भयो तर अदालतको फैसला विलम्ब भयो र मान्छे अवकाशमा गएको अवस्थामा समाधान के त ? यसको जवाफ दिने हामीले यसै ऐनमार्फत सम्बोधन गर्नुपर्छ । अदालतले फैसला नगरेसम्म निलम्बन नगर्ने कि ! निलम्बन नै गर्ने हो भने क्षतिपूर्तिको व्यवस्था गर्ने हो कि ! यो गाँठो फुकाउनुपर्नेछ । यो विषयमा पर्याप्त छलफल हुनुपर्छ ।’

भ्रष्टाचार ऐन संशोधन गर्न बनेको विधेयक धेरै संवेदनशील र महत्वपूर्ण  भएकाले व्यापक छलफल र परामर्श गरेर यसबिचमा देखिएका जटिलता हटाउने गरी बन्नुपर्नेमा उनले जोड दिए ।

हदम्याद कति समय राख्ने वा नराख्ने विषयमा छलफल गरेर निष्कर्षमा पुग्नु पर्ने भन्दै पहिलेको प्रचलनभन्दा घटाउने कि बढाउने भन्ने विषय पनि छलफलबाटै टुंगो लगाउनुपर्ने प्रचण्डको धारणा छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update