नेपाल न्युज प्वाइन्ट डटकम
अनिल र भीमको शतकमा नेपालको शानदार जित, क्यानडाविरुद्धको सिरिज क्लिनस्वीप

काठमाडौं : नेपालले क्यानडाविरुद्धको एक दिवसीय सिरिज क्लिनस्वीप गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको अन्तिम तथा तेस्रो खेलमा नेपाल ९ विकेटले विजयी हुँदै सिरिज क्लिनस्वीप गरेको हो । सिरिज नेपालले ३-० ले विजयी भएको हो ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा अनिल साह र भीम सार्कीको नटआउट शतकीय इनिङ खेले ।

अनिलले १२४ बलमा नटआउट ११२ रन बनाए । सो क्रममा उनले १२ वटा चौका र २ वटा छक्का प्रहार गरे । यस्तै भीमले १२९ बलमा नटआउट १०१ रन बनाए । सो क्रममा उनले ११ वटा चौका र १ वटा छक्का प्रहार गरे । त्यस्तै ओपनर कुशल भुर्तेलले १४ बलमा ३ चौकको मद्दतमा १३ रन बनाए । क्यानडाका लागि डिलोन हेलिगरले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धलिवालले अर्धशतकीय पारी खेले । उनले ८२ बल खेल्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ५० रन जोडेका हुन् । त्यस्तै क्यानडाका अर्का ओपनर निखिल दत्तले ४५ रन बनाए भने कप्तान साद बीन जाफरले ३१ रन बनाए । हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ र श्रीमान्थ विजेरत्नले २२ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

क्यानडालाई मध्यम रनमा रोक्ने क्रममा नेपालका लागि डेब्यू खेलाडी हेमन्त धामीले ३ विकेट लिए । यस्तै कुशल मल्लले २ विकेट लिए भने ललित राजवंशी र अकाश चन्दले समान १-१ विकेट लिए ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update