काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको आकार घटाएका छन्। सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै उनले १२.६२ प्रतिशत बिन्दुले बजेटको आकार घटाएका हुन।
आकार घटाएसंगै चालु आवमा ८७.३८ प्रतिशत मात्रै खर्च हुनेछ। महतले चालू वर्ष १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएकामा अर्धवार्षिक समीक्षामार्फत घटाएर १५ खर्ब ३० अर्ब २६ करोडमा सीमित गरेका हुन।
बजेट आकार घटाउँदा सबैभन्दा बढी पुँजीगत क्षेत्रको बजेट केटौती हुने भएको छ। चालू बजेट कुल बजेटको ८८. ८४ प्रतिशत हुँदा पुँजीगत बजेट भने ८४.१३ प्रतिशत मात्रै छ। त्यसैगरी वित्तीयतर्फको बजेट पनि विनियोजित बजेटको ८७.३९ प्रतिशत मात्रै हुने नयाँ लक्ष्य निर्धारण गरिएको छ। मध्यावधि समीक्षा गर्दै अर्थमन्त्री महतले भने, ‘कुरा गरेजस्तो काम हुँदैन, आर्थिक सुधारको विषय विस्तारै हुन्छ। सूचक सकारात्मक छन् र यो यही गतिमा अघि बढ्छन्, आर्थिक गतिविधि बढ्छ भन्ने छ।’
उनले भने ‘गत बजेटमा धेरै दायित्व र घोषणा भइसकेका छन। बजेट पद्धतिलाई चुस्त बनाउन अझै केही समय लाग्ने मन्त्री महतले बताए।