नेपाल न्युज प्वाइन्ट डटकम
दश मेगावाटसम्मका आयोजनाको पीपीए खुलाउने निर्णय

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले दश मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ । गत माघ २४ मा बसेको प्राधिकरण सञ्चालक समितिको ९६३औँ बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत आयोजनासँग पीपीए खुलाउने निर्णय गरेको हो । 

दश मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत ‘लेउ या तिर’ (टेक अर पे) प्रावधानका आधारमा खरिद गरिने प्राधिकरणले जनाएको छ । आयोजनाको विद्युत सुक्खायाम (मङ्सिर १५ देखि जेठ १५ सम्म) आठ रुपैयाँ ४० पैसा र वर्षायाम (जेठ १६ देखि मङ्सिर १५ सम्म) का लागि चार रुपैयाँ ८० पैसामा खरिद गरिनेछ । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दश मेगावाटसम्मका आयोजनामा उत्पादन समिश्रण (जेनेरेसन मिक्स) का आधारमा तय गरिएको पीपीए सीमा (कोटा) लागू नहुने व्यवस्था गरिएको बताए । स्थानीय प्राकृतिक स्रोतको अधिकतम प्रयोग र स्वदेशी साना लगानीकर्ताको लगानीलाई जलविद्युत क्षेत्रमा प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।

“कोटाका कारण दश मेगावाटसम्मका जलविद्युत आयोजनाको पीपीए हुन सकिरहेको थिएन । अब दश मेगावाटसम्मका आयोजनालाई उक्त कोटा लागू नहुने भएकाले जहिले र जति क्षमताको भए पनि पीपीए गर्न सकिन्छ । यसले स्वदेशी साना लगानीकर्तालाई प्रोत्साहन गर्ने छ”, कार्यकारी निर्देशक घिसिङले भने “अब ग्रिड आवद्ध सम्झौता (ग्रीड कनेक्सन एग्रिमेन्ट) भएका र हुने दश मेगावाटसम्मका जलविद्युत आयोजनाको पीपीए जति र जहिलेपनि गर्ने छौँ ।”

हालसम्म दश मेगावाटसम्मका ८९ आयोजनाले पीपीएका लागि प्राधिकरणमा निवेदन दिएका छन् । आयोजनाको क्षमता तीन सय ५१ मेगावाट छ । त्यसमध्ये, एक सय ९५ मेगावाटका ४४ आयोजनासँग ग्रिड आवद्ध सम्झौता सम्पन्न भइसकेको छ । आगामी दश वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधारमानी विद्युत प्रणालीमा जलाशययुक्त आयोजनाको २५ प्रतिशत, अर्धजलाशययुक्त आयोजनाको ३० प्रतिशत र नदी प्रवाहमा आधारित आयोजनाको ४५ प्रतिशत अंश रहने गरी उत्पादन समिश्रण तय गरिएको थियो । सोही आधारमा पीपीएको सीमा तय गरिएको थियो । 

आरओआर आयोजनाका लागि तय गरिएको अर्थात छ हजार सात सय ५० मेगावाट सीमा पूरा भइसकेकाले १० मेगावाटसम्मका आयोजनाको समेत पीपीए हुन सकिरहेको थिएन । दश मेगावाटसम्मका अधिकांश आयोजना आरओआर छन् । प्राधिकरणले हालसम्म नौ हजार दुई सय मेगावाटको पीपीए गरिसकेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update