नेपाल न्युज प्वाइन्ट डटकम
कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

कपिलवस्तु : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ दोबाटाको घुम्तीबाट बुधबार मध्यरातमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बस खोलामा खस्दा १० जना यात्रुको मृत्यु भएको छ भने ३० जना यात्रु घाइते भएका छन् ।

मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । मृत्यु हुनेहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् । यस्तै, भीमदत्त नगरपालिका-१६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भट्ट, भीमदत्त-२ का सुदीप भट्ट र भीमदत्त-९ का बिसनदत्त भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नबरत्न पौडेलले बताए । 

बस महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको थियो भने बस करिब दुई सय मिटर तल खस्दा दुर्घटना भएको घटनास्थलमा पुगेका एसपी पौडेलले मध्यान्हलाई बताए । ३३ जनालाई स्टेचरमा राखेर खोलाबाट रोप रेस्क्यु गरेर उद्धार गरिएको सशस्त्र प्रहरी कपिलवस्तुले जनाएको छ । बसमा ३७ जना यात्रु र ३ जना बसका स्टापहरु रहेका थिए । तीव्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको भएपनि थप अनुन्धानबाट खुल्ने प्रहरीको भनाइ छ ।

घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी र आधारभूत स्वास्थ्य केन्द्र अस्पताल र बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । ६ जना उपचार पछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update