काठमाडौं : नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ आजदेखि शुरु भएको छ । शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् ।
१६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएको छ । आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भदौ १६ गतेसम्म चल्ने नाडा अटो सोमा ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।
६ दिन सम्म चल्ने शोमा २४ चार–पाङ्ग्रे ब्रान्डहरू, १९ दुई–पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने भएका छन् । यसका साथै ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् । ७ वित्तीय संस्थाहरूले वित्तीय समाधानहरू प्रदान गर्नेछन् । समग्रमा शोमा ९५ प्रदर्शकहरूले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन् ।
प्रदर्शन अवलोकनका लागि खल्ती एपबाट २० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधन माग बढेपछि यस वर्ष नाडाले विद्युतीय सवारीसाधनमा जोड दिएको छ ।