भोक बेचेर, मुस्कुराउने पनि देखेँ, शोक बेचेर मुस्कुराउने पनि देखेँ, सबथोक बेचेर मुस्कुराउने पनि देखेँ ।
स्टुडेन्ट भिसामा जापान जानेहरुको यथार्थ रहेछ यो सबै । चिसो र हिउँ पर्ने बेला, तर सबैलाई हतार र पैसा थुपार्ने चटारो, किन नहोस् त सबै सेट भइसकेका छन् । म जस्तो लम्फु हो र अरु ? आफैंलाई जवाफ आफैं दिएँ ।
चिसो बढेका कारण आज केही प्याक लगाउँदै थिएँ । भर्खरै जापान आएको होम सिक्नेस भएछ क्यारे, त्यसै मन रोइरहेको छ । बाबा, आमा, दिदी, साथीभाइ सबै आँखा अघि घुम्नु घुमेका छन्, यादलाई भिसा र पासपोर्टको जरुरत नपर्ने । यादहरुको भीडमा केही पर अतित पनि घुम्दै थिए, जुन कुरा निकै दर्दानक छ ।
नेपालबाट प्लेन चड्नु अघि त्यही कुराले म निकै रोएको पनि थिएँ, मेरो मन हो थामिएन अनि रोएँ, छोरा मान्छेको पीडा के पीडा नै होइन र ? छोरा मान्छे रुन हुन्न भन्छन अझै ।
गोरखाको एक विकट गाउँमा जम्नेको म, त्यसमा पनि दुई आमा भएको घर । निकै हेला गरेर बाबाले मेरि आमालाई परको एक ठाउँमा घर बनाइदिएर राख्नुभएको थियो र कान्छी आमा लिएर चितवन भरतपुर सर्नुभयो । शिक्षकको जागिर बहाना बनाउन सजिलो । पीडामै बित्यो मेरो बाल्यकाल ।
सरकारी स्कुलमै पढ्दै थिएँ । ७ कक्षामा मेरो मिल्ने साथी थिइन् सुनिता । साँच्चै राम्री हुन् या मलाई मन परेको भएर राम्रो लाग्या हो, तर मेरि रानी थिइन् । त्यो सानै उमेरमा पनि मभित्र उनीप्रतिको मेरो प्रेम छताछुल्ल थिय । प्राय: सँगै घर फर्किन्थ्यौं टाढाको बाटो । बीचमा पर्ने चौतारीमा एक्छिन थकाइ मारेर घर जान्थ्यौं हामी । एक दिन त्यही मौका छोपी उनीमाझ प्रेम प्रस्ताव राखें । केही आसा र धेरै डर मनमा थियो । केही नबोली गइन् उनी । म डराएँ, कतै आमालाई पो भनिदिने हो कि ?
भोलिपल्ट मलाई उनले नोट दिइन् । त्यसमा प्रेम स्वीकार गरिएको कागज थियो, म रमाएँ । समयसँगै हामी ८ कक्षामा पुग्यौं । तर प्रेममा बाधा त कहाँ नहोला र ? बाबा आउनुभयो मलाई चितवन राखेर पढाउने भन्दै, आमाले पनि हुन्छ भन्नु भएको रहेछ । तर मलाई भने आमाको काख र सुनिताको साथ छाडेर जानै मन थिएन । बाबाको कुरा म नाइ भन्न सक्ने थिइनँ । लागें उहाँकै पछि पछि चितवनतिर ।
चितवनको एक प्रतिष्ठित स्कुलमा मलाई भर्ना गरियो र त्यतै पढ्न थालें । तर सुनिताको अति याद आइरहेको थियो, न फोन न चिठी पठाउने आँट नै थियो । दशैंमा घर गएको बेला भेटें र दुबै रोइयो । हर्सको आँसु हो या अरु नै छुट्याउन सकिनँ मैले । यसरी नै लामो बिदाको दिनमा म घर गएको बेला हाम्रो भेट भइरहन्थ्यो, भेट्न जाँदा सधैं म क्याडबरी डेरि मिल्क लग्थें विशेषगरी सुन्तुका लागि । गाउँ न हो उता पाइँदैन थियो । निकै मन पराउँथिन् उनी त्यो चक्लेट ।
एसएलसीको समय नजिकिँदै थियो । हामी दुबै जना टेस्ट पास भएका थियौं । म मिहिनेत साथ पढिरहेको थिएँ । कहिले एसएलसी सकिएला र म सुनितालाई भेट्न जान पाउँला जस्तो भइरहेको थियो,अर्कै बेचैनी मनभित्र । चैतमा एसएलसी सकियो र दुई हप्ताको बिदामा बाबासँग म आफ्नो गाउँ गएँ, गाउँ गएको बेलुका सबै साथीहरू आए, तर सबैको मुख मलिन थियो । सुटुक्क बोलाएर म बाहिर निस्किएँ । म झस्किएँ होइन यो हुनै सक्दैन ऐले नै यति उमेरमा भन्दै म कराएँ साथीहरुसँग । तर जे हुनु भइसकेको थियो, आँसु भेल रोकिएन आँखामा । आकास खसे जस्तो भयो, सुनिताको माघमै विवाह भइसकेको रहेछ । सानै उमेरमा दुबइको लाहुरेसँग । त्यो भन्दा अझ पीडा दियो, उनले भनेको शब्दले "गरिब परिवार र नमिलेको घरमा म विवाह गरेर जीवन बिताउन सक्दिनँ ।"
सम्हाले आफूलाई सोधें "कहाँ गइन् उनी ?" आबुखैरेनी भेट्न जाने मन भयो, तर साथीहरुले आग्रह गरे किन नरुचाउनेको घर जान खोज्छस् ? के गर्न जान्छस् ? हो पनि । डढेलो लागेको वनसरि मन भयो र झोलाको डेरीमिल्क घर छेवैको खोलामा लगेर बगाइदिएँ, जुन सुनिताका लागि ल्याएको थिएँ । अतित को त्यो नमिठो पलसँगै आफ्नो भविष्य उज्यालो बनाउन म अध्ययन गर्दै थिएँ । १ वर्षपछि ११ को जाँच दिएर घर गएँ आमालाई भेट्न, निकै न्यास्रो लागिरहेको थियो मलाई आमाको ।
केहि दिनपछि म गाउँ डुल्न निस्किएँ । बाटोमै सुनिताको माइत पर्थ्यो, त्यहाँ नजिकै पुग्दा मुटु भरिएको थियो, घर नजिकै पुग्दा आँगनमा सुनिता र मेरो जम्काभेट भयो, माइती आएकी रैछिन् ।
अति दु:ख पनि लाग्यो, जुन सुनितालाई मैले अन्तिममा देखेको थिएँ, त्यो सुनिता उनी होइनन् । नारीको जीवन उसको घर परिवार लोग्ने त त्यहाँको टोल समाजले पनि निकै फरक पार्छ । हामी केटाहरुलाई जस्तो सजिलो त कहाँ छ र चेलीको जिन्दगी । एक पुरुषसँग नारीको जीवन जोडिएको हुन्छ । हो यही पीडामा दबिएको रुप थियो सुनितामा । त्यो हसिलो मुहारको खुसी हराएको थियो । सँगै त्यो आकर्षक शरीर उनको जसले पनि मन पराउने अहिले निकै दुब्ली अवस्थामा पनि थिइन् ।
कोही बेला भगवान पनि जति कठोर भइदिन्छ । मनमै गाली गरें भगवानलाई किन उसलाई यति ठूलो चोट र पीडा दियौ, बरु मलाई नै दिएको भए हुन्थ्यो मै सहन्थें उनको भागको सारा दु:ख पीडाहरु । तर भने जस्तो कहाँ हुन्छ र सधैं जिन्दगीमा । जस्तो पहिरनमा पनि चिटिक्क देखिने सुनिता यो पहिरनमा भिन्दै देखिएकी थिइन्, भाग्यले नराम्रोसँग ठगेको थियो, सानै उमेरमा केही पैसा कमाउने केटा भनेर केही नसोची बिहे गरेकोमा उनको पछुतो मुहारमा प्रष्टसँग देखिन्थ्यो । साँच्चै नै सुनिताले लगाएको सेतो कोरोको बस्त्र फिटिक्कै सुहाएको थिएन, नसुहाए पनि लगाउनुपर्ने उनको बाध्यता थियो, मैले त्यो रुप हेर्नै सकिनँ र केही नबोली निस्किएँ ।
लाउँलाउँ खाउँखाउँ भन्ने त्यो कलिलो उमेरमा ठूलै बज्र परेको थियो उनीमाथि । भाग्यको नियति । कति निर्दयी समय पनि मर्स्याङ्दी नदीमा बर्खामास आएको भेलले सबै खुसी बगाइदियो भन्दै थियो सुनिताको भाइ । पौडी खेल्न गएको उन्को श्रीमान कहिल्यै फर्किएर आएनन् । सदा सदाका लागि गए बग्दै बग्दै भेलसँगै, कठै जिन्दगी ।
दुई जीउको भएको बेला श्रीमानको साथ चाहिनेमा श्रीमान नै गुमाउनु परेको थियो सुनिताले । उनलाई त्यही अवस्थामै घर भित्र्याउन मन थियो किनकि उनलाई कसैको साथको आवश्यक थियो, तर यो समाजलाई कहाँ पच्छ र यस्तो कुरा । मेरि आमा पनि एक नारी उहाँलाई पनि मैले सम्झाउन सकिनँ भने समाज त धेरै परको कुरा ।
आमाले रिसाउँदै भन्नु भयो 'यस्तो छोरो जन्मिन भन्दा मर्या भए हुने,' म स्तब्ध भएँ आमाको कुरा सुनेर । केही नबोली पुन: भरतपुरतिर फर्किएँ । त्यहाँ बस्नै मन भएन त्यो सब देखेपछि ।
सधै सपनीमा सुनिता नै आउँथिन् उही रुपमा निकै छट्पटी हुन्थ्यो । घरमा पनि निकै गाली सुन्नु पर्यो रे उनलाई श्रीमानको मृत्युपछि, त्यसैले माइत नै बस्दै आएकी रहिछन् । समयसँगै उनले एक छोरीलाई जन्म दिइन्, अभागी चेलीको अभागी कर्म । नवजात शिशुको भाग्य आमाको जस्तो नहोस् भनेर म सधैं प्रर्थना गर्थें ।
यता म आफ्नो अध्ययनलाई अघि लैजाँदै थिएँ । उनी उता जसो तसो ठक्कर खाँदै जीवन बिताउँदै थिइन् आफ्नो भाग्यलाई सराप्दै ।
धेरै पछि कताबाट मेरो नम्बर उनले भेट्टाइछिन् र मलाई कल गरिन् । सबै परिवार चितवन भएकाले म त्यति गोरखा जाँदिन थिएँ अचेल । पश्चिम चितवनमा पुन: उनको बिहे भएको रहेछ, खुसी लाग्यो कसैको साथ पाइछन् भनेर । लामो जिन्दगी एक्लै काट्न मुस्किल हुन्छ नै त्यसैले कसैको साथ जरुरी थियो सुनितालाई ।
तर अभागीलाई जहाँ गए पनि दु:खले पिछा छोड्दैन । टिल्ल हुने गरी जाँड धोकेर स्वास्नी कुट्ने श्रीमान परेछ । एक दिन फुर्सद मिलाएर उनलाई भेट्न भनी उनको गाउँ गएँ । सँगैको गाउँमा मेरो साथीको घर थियो, उनलाई भेट्न गएको दिन हामीले सुनितालाई भेट्न चौकी पुग्नुपर्यो । राति श्रीमानले कुटेको रहेछ । शरीरभर निलै डाम, च्यातिएको कपडालाई पछौरीले छोपेकी र लुछिएको उनको लामो कपाल । साँच्चै दर्दानक थियो त्यो दृश्य । हेर्न सकिनँ मैले उनको पीडा र चोट ।
सुटुक्क बोलाएर उनलाई अरुले शंका नगर्ने हिसाबले केही आर्थिक सहयोग गरेर त्यहाँबाट निस्किएँ । निकै दु:ख लायो उनलाई त्यो अवस्थामा देख्दा ।कुटाइ सहनुपर्थ्यो दिनहुँजसो । हाम्रो समाज समस्या परेकालाई मद्दत गर्नु भन्दा बरु तमासा हेरेर बस्छ रमिते बनेर ।
बेला बेला साथीसँग उनको अवस्थाबारे बुझिराख्थें । सधैं दु:खको कुरा सुन्नुपर्थ्यो । सुनिताले रुँदै कलमा भनेकी थिइन् कि विश्व मैले तिमीलाई धोका दिएको सजाए पल पल भोग्दै छु, निकै सम्झाएको थिएँ त्यो बेला ।
यता मेरो कलेजको पढाइ सकिसकेको थियो । अब मैले पनि मेरो घरपरिवारका लागि केही गर्नुपर्ने बेला आएको थियो । त्यसैअनुरुप जापानी भाषा सिक्दै थिएँ र एप्लाइ पनि भइसकेको थियो मेरो । केही दिनमा भिसा पनि आयो । शुरुमा बाबालाई सुनाउन मन लाग्यो । तर होइन सुनितालाई भन्छु, हुँदैन झन् उनलाई हेपेजस्तो होला भन्ने लाग्यो अनि बाबालाई नै सुनाएँ ।
दुई दिनपछि मात्र उनलाई खबर गरें । पीडा लुकाएर मेरो खुसीमा हाँस्ने प्रयास गर्दै थिइन्, म पनि त्यस्तै गर्दै थिएँ किनकी म रोए उता आँसुको सागर उर्लनु बेर लाग्दैन, म बुझ्थें त्यो कुरा त्यसैले खुसी बनाउने प्रयास गर्दै थिएँ ।
जापान जाने समय पनि नजिकै आइसकेको थियो । अक्टोबरको दोस्रो हप्ता फ्लाइट थियो, सबैसँग बिदा हुनुअघि मैले सुनितालाई भेटेर बिदा मागें । उनी भन्दै थिइन् 'नमरी बाँचे कालले साँचे फेरि भेट होला खुसी हुनु कमाउनु आफ्नो त जीवन जीउन भन्दा मर्नु बेस । बेकार छ नर्क भन्दा कम छैन ।' छोरीका लागि भए पनि बाँच्नुपर्छ भन्दै सम्झाएको थिएँ मैले ।
अन्ततः झोला लिएर म राजधानीतिर गएँ फ्लाइटको ३ दिन पहिले नै केही किनमेल गर्नु थियो । अक्टोबर २ तारिक सोमबार राति ११ बजे मेरो फ्लाइट थियो ड्रागन एयरबाट । आइतबार बेलुकी सुनिताले फोन गरेर शुभ यात्रा भनिन्, मैले हस भनें । थकाइले होला त्यो रात छिट्टै सुतें र कतिखेर उज्यालो भयो थाहा नै भएन, आज त फ्लाइटको दिन भन्दै मन केही खुसी र केही उदास थियो ।
घरमा फोन गरेर बाबा, आमा, दिदी सबैसँग एक घण्टा कुरा गरें, साथीहरूलाई पनि फोन गरें, तर सुनिताको मोबाइल नै अफ भनेको थियो । नजिकै बस्ने साथीले मलाई फोन गर्यो बिहान कता छस के गर्दै भनेर सबै बताएँ । अनि सुनिताको घर गएर बुझ त के भो भनी पठाएँ, मेरो शरीरका प्रत्येक अङ्गहरुले काम गर्न एकाएक छोडे र त्यसै भुइँमा लड्न पुगेछु । "राति सुनिताले घाँटीमा पासो लगाएर आत्महत्या गरिछे"।