काठमाडौं : सशस्त्र प्रहरी बलमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्चकी न्यायाधीश सारंगा सुवेदीको इजलासले मंगलबार विपक्षीहरूको नाममा कारण देखाउ आदेश जारी गरेको हो । इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
गत आइतबार सशस्त्र प्रहरी बलका डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले सर्वोच्चमा रिट निवेदन दिएका थिए । उनीहरूले सशस्त्र प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधि लागु नगर्न माग गर्दै अन्तरिम आदेश माग गरेका थिए ।
यसअघि नेपाल प्रहरीका २१ जना प्रहरी अधिकृतहरूले ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
नेपाल प्रहरीको हकमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले गत बिहीबार ३० वर्षे सेवा अवधिबाट अवकाशमा नपठाउन अन्तरिम आदेश जारी गरेको थियो ।