नेपाल न्युज प्वाइन्ट डटकम
गण्डकी गाउँपालिकामा विषादी प्रयोगको अवस्था बुझ्न कृषिमन्त्रीले गठन गरे कार्यदल

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडाहरूमा कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न पाँच सदस्य समिति गठन गरेका छन् ।

केही दिनयता गण्डकी गाउँपालिकाका केही वडाहरूमा तरकारी खेतीमा अधिक विषादी प्रयोग गर्दा कृषककै स्वास्थ्यमा गम्भीर समस्या आएको सार्वजनिक भएपछि कृषिमन्त्री अधिकारीले वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका हुन् ।

एउटै गाउँपालिकाका ६१ जना तरकारी किसानमा क्यान्सर र १५ जनाको मिर्गौला फेल भएको समाचार आएलगत्तै मन्त्री अधिकारीको उपस्थितिमा बसेको आकस्मिक बैठकले प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत पोख्रेलको संयोजकत्वमा  समिति गठन गरेको हो ।

कार्यदलमा नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक डा. काशीनाथ चिलुवाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत रिजन कार्की, केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत विवेक सुनार र प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका बाली संरक्षण अधिकृत माधव भट्ट रहेका छन् ।

कार्यदललाई प्रभावित भनिएको स्थानमै पुगेर वास्तविक अवस्थासहितको प्रतिवेदन पेस गर्न भनिएको छ । पोख्रेल नेतृत्वको कार्यदल बुधबार नै प्रभावित ठाउँ पुगेर काम शरू गरिसकेकाे छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update