काठमाडौं : राजीव गुरुङ अर्थात ‘दीपक मनाङे’ले आफूले पाउने मन्त्रालय बेचिदिने बताएका छन् । उनले आफुले पाएको मन्त्रालयमा आफ्नो कुनै काम नभएको भन्दै राम्रो पैसा दिने दललाई मन्त्रालय बेचिदिने बताएका हुन् ।
एमाले सरकारमा सहभागी भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट हटाएर सोमबार मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
उनले प्रदेशमा उम्रिने वनमारा र तीतेपाती मात्रै हेर्न मन्त्री नचाहिने बताउँदै गण्डकी प्रदेशको वन तथा वातावरणमन्त्रीको पदबाट राजीनामा दिएको पनि बताए । यसअघि ६ पटक मन्त्री भइसकेकाले कुनै अधिकार नै नभएको नाम मात्रको मन्त्रालयको नेतृत्व नगर्ने निर्णयमा पुगेको तर्क गरे ।
आफूले छोडेको मन्त्रालय कांग्रेसको भागमा परेकाले मनाङकै अर्को क्षेत्रबाट जितेका कांग्रेसका मुनिन्द्रजंग गुरुङलाई दिन मुख्यमन्त्रीसँग आग्रह गरेको पनि बताए ।
उनले आफूले मन्त्रालय एमाले अथवा कांग्रेसलाई बेच्न लागेको कुरा एक अडियोमार्फत सार्बजनिक भएको छ । आफुलाई बन मन्त्रालय नचाहिने यदि एमाले र कांग्रेसले राम्रो पैसा दिन्छ भने म बेचिदिन्छु उनले भनेका छन् । उनले तीन करोडसम्म कुनै दलले दिन्छ भने उसैलाई आफ्नो भागको मन्त्रालय दिने बताए ।