मोरङः आफ्नै छोरीहरू १ वर्षीया आइंका कार्की र ३ वर्षीया अर्पना कार्कीको हत्या गरी फरार रहेकी सुन्दरहरैचा नगरपालिका–७ मालति टोल बस्ने २१ वर्षीया अस्मिता पौडेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुन्दरहरैचा नगरपालिका-७ स्थित केरा बगानमा सोही नगरपालिका–७ मालति टोल बस्ने धनकुटा पाख्रीबास नगरपालिका–५ घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू आइंका र अर्पनाको शनिबार दिउँसो शव फेला परेका थियो । घटनाका अनुसन्धानको क्रममा अर्जुनकी श्रीमती अस्मितालाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापा बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ ऐभरेष्ट बैंक अगाडि हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा अस्मिताले शुक्रबार साँझ आफ्नै श्रीमान अर्जुन कार्कीसँग निर्माणाधिन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि दुई वटी छोरीहरू साथमा लिइ सुन्दरहरैचा नगरपालिका–७ स्थित केरा बगानमा लगेर विष सेवन गराइ हत्या गरेको खुल्न आएको छ । उनी उपर मोरङ जिल्ला अदालतबाट ४ दिन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।