नेपाल न्युज प्वाइन्ट डटकम
तीन मन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत र संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गरेको छ ।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानबिन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै एमालेले विरोध जनाएको छ । आजको प्रतिनिधि सभाको बैठकको शुरुमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले ज्वालालाई बर्खास्त गर्न माग गरे ।

बर्तौलाले सरकारले गठन गरेको आयोगले नै दोषी भनेका मन्त्रीलाई जोगाएर सिपाहीलाई कारबाही गर्ने कुरा एमालेलाई स्वीकार्य नरहेको भन्दै तत्काल मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरे ।

यस्तै उनले एमालेले स्वास्थ्यमन्त्री बस्नेत अख्तियारको छानविनमा रहेको भन्दै भ्रष्टाचारमा जोडिएका मन्त्रीलाई छेउमा राखेर प्रधानमन्त्रीको सुशासनको भाषण सुन्न नसकिने बताए । टेरामक्स भ्रष्टाचार प्रकरणमा मन्त्री बस्नेतले अख्तियारमा बयान दिइरहेको र उनी भ्रष्टाचारका आरोपी भएकाले मन्त्री पदमा रहन नमिल्ने भन्दै संसदमा एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै पर्यटनमन्त्री किराती भ्रष्टाचारमा संलग्न रहेको भनेर अनुसन्धानमा आइसकेको सचेतक बर्तौलाले बताए । किराती अध्यक्ष रहेको लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनीको सार्वजनिक जग्गा प्रधानमन्त्रीका घरबेटीका छोरालाई गैरकानूनीरूपमा लिजमा दिने निर्णय गरेको भन्दै बर्तौलाले तत्काल बर्खास्त गर्न माग गरे । 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update