काठमाडौं : सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउन प्रस्ताव लैजाने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ ।
प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने प्रस्ताव लैजाने कुरा अलोकतान्त्रिक भएको बताए ।
उपसभामुख हटाउने विषयमा राजनीतिक दलहरूले छलफल गर्नु बेठिक भएको बताए । उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरामा राजनीतिक पार्टीहरु बसेर छलफल गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य नहुने उनको भनाइ थियो ।
सांसद परियारले संवैधानिक परिषद्मा सत्तापक्षको बहुमत पुग्दैन भन्ने नाममा उपसभामुखलाई हटाउन खोजिनु लोकतान्त्रिक हुन नसक्ने बताए ।
लोकतन्त्रलाई सल्लाह गरेर मारिने हो भने जनता लोकतन्त्रको लागि सडकमा आउने उनले बताए । युवा पुस्तालाई प्रतिबन्ध लगाउउने लोकतन्त्रलाई हरण गर्ने गर्ने हो भने आफूले खनेको खाल्डोमा आफैँ पर्ने चेतावनी दिए ।