नेपाल न्युज प्वाइन्ट डटकम
एमालेको वार्षिक कार्ययोजना पारित

काठमाडौं : नेकपा एमालेले वार्षिक कार्ययोजना पारित गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले पोलिटब्युरो बैठकले दिएको सुझावका आधारमा कार्ययोजना पारित गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । 

उनका अनुसार कार्ययोजनामा विभिन्न १८ वटा विषय समेटिएको छ । पार्टी सदस्यता नवीकरण र अभिलेखीकरण, नियमित अधिवेशन, बाँकी रहेका जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने विषय कार्ययोजनामा समेटिएको छ ।  सबै तहको अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गरिसक्ने गरी योजना बनाइएको उनले बताए ।

पार्टी प्रवेश गरेका र विभिन्न कमिटीबाट बिदा भएकालाई तीन महिनाभित्र जिम्मेवारी दिइने कुरा कार्ययोजनामा उल्लेख गरिएको छ । यस्तै पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्यांकनका लागि विधि बनाइएको छ । पार्टी एकता कसरी निमार्ण गर्न सकिन्छ भन्ने कुरालाई आधार बनाएर कार्ययोजना बनाइएको महासचिव पोखरेलले बताए।

पार्टी स्कुल अभियानको रुपमा सञ्चालन गर्ने र प्रत्येक वर्ष पार्टीका सदस्यले अनिवार्य रुपमा कुनै न कुनै तहको पार्टीको स्कुलमा सहभागी भइ प्रशिक्षित हुनुपर्ने विषय कार्ययोजनामा उल्लेख गरिएको छ । कार्ययोजनामा सरकारले गरेका कामलाई जनस्तरमा लैजाने र पार्टी कार्यालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने जोड दिइएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update