नेपाल न्युज प्वाइन्ट डटकम
महामन्त्री शर्माको प्रतिवेदन : गठबन्धनलाई कायम राखेर नै काम गर्नुपर्ने कांग्रेसको अभिभारा (पूर्णपाठ)

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसायिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । ललितपुरको गोदावारीमा जारी महासमिति बैठकको दोस्रो दिन मंगलबार महामन्त्री शर्माले प्रतिवेदनमा लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरेका छन् ।

प्रतिवेदनमा महामन्त्री शर्माले हालको गठबन्धन आगतको सम्झौता नभइ विगतले बोकाएको अभिभारा भएको उल्लेख गरेका छन् । एकल बहुमत कसैको नभएको संसदमा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभार कांग्रेसको रहेको उनले उल्लेख गरेका छन् । महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गरेका छन् ।

शर्माले गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुन नहुने बताएका छन् ।

प्रतिवेदनमा शर्माले कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र राष्ट्रियसभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा गठबन्धनमा जतिबेला पनि संकट आउनसक्ने औंल्याएका हुन् ।

महामन्त्री शर्माले सरकारको प्रभावकारिता र कमजोरीमाथि खुलेर छलफल गर्नुपर्ने र कांग्रेसले सम्हालेका मन्त्रालयको प्रगति र कमजोरीको पनि समीक्षा गर्नुपर्ने बताएका छन् ।

महामन्त्री शर्माले राजनीतिप्रतिको विकर्षण अन्त्य गरी देशप्रति भरोसा वृद्धि गर्ने, छिमेकी मित्रराष्ट्रहरूसँग बृहत्तर सहकार्य गर्ने, पर्यावरण रक्षासहित भौतिक विकासमा जोड दिने, शिक्षा क्षेत्रमा सुधार गर्ने कार्यभार कांग्रेसको जिम्मेवारी रहेको पनि आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update