नेपाल न्युज प्वाइन्ट डटकम
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजबाट सञ्चालनमा

काठमाडौं : सरकारले आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीबार काठमाडौंको थापाथलीस्थित सुपथ मूल्य पसलको उद्घाटन गरेका हुन् ।

नेपालीहरुको महान पर्व विजयादशमी, नेपाल संवत्, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकाभित्र थापाथली बाहेक नख्खु, ललितपुर, सिंहदरबारको पश्चिम गेटनजिक र भक्तपुरको सूर्यविनायकमा सुपथ मूल्य पसल राखिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं उपत्यकासहित २४ जिल्लाका ६३ वटा ठाउँमा सुपथ मूल्य पसलहरू सञ्चालन गर्दैछ । यही असोज ७ गतेभित्र देशभर ६३ वटै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइसक्ने कम्पनीले जनाएको छ ।

आगामी माघ २ गतेसम्म सञ्चालन हुने देशभरका सुपथ मूल्यका पसलहरूमा चामल र दाल प्रतिकिलोग्राम ५ रुपैयाँ छुटमा उपलब्ध गराइएको छ । तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकिलो तथा प्रतिलिटर ७ रुपैयाँ छुट दिइएको छ ।

कर्णाली सिमी–गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा पनि प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ । खसी–बोका तथा च्याङ्ग्राहरूमा प्रतिकिलो १० रुपैयाँको सहुलियत दिइनेछ । देशभर ५ हजार मेट्रिक टन खाद्यान्न चामल बिक्री गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । कम्पनीले १ हजार ५ सय खसी–बोका र ३ सय च्याङ्ग्रा ल्याउन लागेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update