काठमाडौं : अविरल वर्षासँगै आएको बाढी तथा पहिराका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।
बिहीबारदेखिको निरन्तर वर्षाले ठाउँठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको वालिङ–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।
गएराति वालिङ नगरपालिकाको बाँयटारी तथा गल्याङ नगरपालिका विभिन्न ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
राजमार्ग अवरुद्ध भएपछि अहिले सडक विभागको डोजरले पहिरो पन्छाउने काम सुरु गरेको छ । बाँयटारीमा पहिरो हटाउने कार्य जारी छ । वालिङदेखि राम्दीसम्मको सडकखण्डमा पाँच/छ ठाउँमा पहिरो गई सडक अवरुद्ध भएकाले हटाउन केही समय लाग्ने जनाइएको छ ।
पहिरोका कारण बुटवल–पाल्पा हुँदै स्याङ्जा प्रवेश गर्ने सवारीसाधन रोकिएका छन् । वालिङबाट पाल्पा, बुटवलतर्फ जाने सवारी साधन तथा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।
अविरल वर्षाका कारण स्याङ्जा र पर्वतको दक्षिण भेग जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडकका विभिन्न ठाउँमा पहिरो जाँदा सवारीसाधन रोकिएको जनाइएको छ । त्यस्तै वालिङ–चापाकोट सडकखण्डमा पहिरो जाँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने गल्याङ–चापाकोट सडकखण्ड पनि सञ्चालन हुन सकेको छैन ।
अविरल वर्षापछि हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अन्तर्गतको ‘बेलिब्रिज’बगाएको छ । फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले हेवा खोलामा आएको बाढीले ‘बेलिब्रिज’ बगाएको जानकारी दिए ।
अविरल वर्षाका कारण तम्घास–रिडी र रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास–रिडी सडकखण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–११ उर्लेनी, गुल्मीदरबार गाउँपालिका–४ को वीरबास र छत्रकोट गाउँपालिका–३ को लुम्छामा सडकमाथिबाट पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।
त्यसैगरी रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्डमा पर्ने सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा जलसतह बढेको र चन्द्रकोट गाउँपालिका–८ को मजुवा बजार नजिकै बाघ खोलामा सडकमाथिबाट पहिरो खसेपछि शुक्रबार बेलुकीदेखि सडकसमेत अवरुद्ध बनेको हो ।
गोरखा–आँबुखैरेनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । उक्त सडकखण्डको गोरखा नगरपालिका–१२ स्थित सातकिलो ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रहरी सहायक निरीक्षक बसन्त पौडेलले जानकारी दिए ।
मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट ग्याबिन जालीसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ । नीलकण्ठ नगरपालिका–८ दारेगौडा र साघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
निरन्तरको भारी वर्षाका कारण सडकमा पहिरो खस्दा स्याफ्रु–रसुवागढी खण्डको सडक अवरुद्ध भएको छ । जसका कारण सयौँको सङ्ख्यामा सवारीसाधन अलपत्र परेका छन् ।
काठमाडौँबाट रसुवागढी जाँदै गरेका र केरूङबाट काठमाडौँका लागि मालवस्तु बोकी आएका मालवाहक सवारीसाधन टिमुरे क्षेत्रमै रोकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।
पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आज बिहान आएको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो ।