नेपाल न्युज प्वाइन्ट डटकम
हवाई टिकटको अधिकतम मूल्य नलिने संघको निर्णय

काठमाडौं : बिपत्तिको समयमा यात्रुलाई महङ्गो हवाई भाडा लिएको भनी नागरिकस्तरबाट चर्को आलोचना भएपछि एयरलाइन्सहरुले आगामी तीन दिन हवाई टिकटका लागि तोकिएको अधिकतम मूल्य नलिने भएका छन् ।

वायुसेवा सञ्चालक संघको आज बसेको बैठकले आगामी तीन दिनका लागि सरकारले तोकेको अधिकतम भाडा नलिने निर्णय गरेको हो । सोमबार, मंगलबार र बुधबार सस्तो टिकट यात्रुलाई उपलब्ध गराउने निर्णय भएको संघका अध्यक्ष मनोज कार्कीले बताए । 

“तीन दिनलाई एयरलाइन्सहरुले ‘अफर फेयर’ अधिकतम माथिल्लो भाडादर हटाइदिएका छौं, सस्तो दरमा मात्रै टिकट बिक्री भएको छ”, उनले भने । सरकारकोतर्फबाट पनि इन्धनमा सहुलियत तथा विमानस्थल शुल्क, जहाज पार्किङ शुल्कमा छुट गर्न आग्रह गरिएको र त्यसो भएको अवस्थामा हवाई भाडादर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने अध्यक्ष कार्कीले बताए । 

सामाजिक सञ्जालमा हवाई भाडा महङ्गो भएको गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत नै बिपत्तिको समयमा यात्रुहरुसँग पहिलाभन्दा सहुलियत मुल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेका थिए । अध्यक्ष कार्कीले विपद्मा नागरिकको यात्रालाई सहज होस भनेर सकेसम्म सस्तो दरमा हवाई टिकट बिक्री गरिरहेको दाबी गरे । 

हवाई यात्रुको चाप बढेपछि हवाई कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गर्न छोडेका छन् । बिहीबारदेखि परेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरो जाँदा सडक सञ्जाल अवरुद्ध टन् । यस्तो अवस्थामा हवाई भाडा बढाएको भन्दै नागरिकस्तरबाट आलोचना भएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update