काठमाडौं : गृह मन्त्रालयले धादिङ र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई केन्द्र (मन्त्रालय)मा तानेको छ ।
धादिङमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
धादिङमा यसअघि राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्यप्रसाद सेढाइँ प्रमुख जिल्ला अधिकारी थिए ।
विपद्बारेको पूर्वसूचना हुँदाहुँदै सवारीसाधन सञ्चालनमा रोक नलगाएको, तत्काल उद्धार कार्यमा समेत प्रभावकारी भूमिका निभाउन नसकेको भन्दै उनीहरुलाई मन्त्रालय तानिएको हो ।
यस्तै प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका प्रहरी प्रमुख एसपी गौतम केसीलाई हेडक्वाटर तानेको छ । केसीको सट्टा दीपेन्द्र शाहीलाई धादिङ प्रहरी प्रमुख बनाएर पठाइएको छ ।
बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोजनक नभएको भन्दै प्रहरी हेडक्वाटरले धादिङका प्रहरी प्रमुख हेरफेर गरेको हो ।