काठमाडौं : नेपालीहरुको महान पर्व बडादशैं आजबाट शुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लासका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
नेपाल पञ्चाङ्ग विकास समिति अनुसार आज बिहान ९ बजेर १६ मिनेटमा घटस्थापना गर्ने उत्तम साइत रहेको छ ।
बडा दसैंको अर्को महत्वपूर्ण दिन फूलपाती असोज २४ गते परेको छ । गोरखा दरबार बाट ल्याइने फूलपाती हनुमान ढोका भित्राउने शुभ साइत भने बिहानको ७ बजेर ११ मिनेटमा रहेको छ । फूलपाती पछि असोज २५ को दिन महा अष्टमी परेको छ । यसवर्ष कालरात्रि र महानवमी एकै दिन अर्थात् असोज २५ गते नै परेको छ ।
मान्यजनबाट टिका–जमरा ग्रहण गर्ने दिन वा विजया दशमी असोज २६ गते रहेको छ । त्यस दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन पश्चात् टीका–जमरा ग्रहण गर्ने उत्तम साइत बिहानको ११ बजेर ३६ मिनेटमा रहेको छ ।
टीका थाप्दा, टीका थाप्ने व्यक्ति पूर्व फर्किएर मान्यजन बाट टिका लगाउने गरिन्छ । सामान्यतया दशैंमा देवीको प्रसाद (टिका जमरा) लगाउन साइतको आवश्यकता नपर्ने मान्यता पनि रहेको छ । असोज ३० गते दसैंको अन्तिम दिन (कोजाग्रत पूर्णिमा) हो र त्यसदिनदेखि दशैं सकिनेछ ।