नेपाल न्युज प्वाइन्ट डटकम
हनुमानढोकाको दशैंघरमा राखियो जमरा

काठमाडौं : काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा आज घटस्थापना गरिएको छ । बिहान ९ बजेर १६ मिनेटको साइतमा जौको जमरा राखिएको हो ।

दशैंघरमा वैदिक विधिपूर्वक जमरा राखेपछि महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ ।

दशैंघरमा राखिएसँगै आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ ।

आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ गरिन्छ ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update