नेपाल न्युज प्वाइन्ट डटकम
धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता फेरि रोकियो

काठमाडौं : धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि आज तय गरिएको अन्तर्वार्ता रोकिएको छ ।

सर्टलिस्टमा परेका बाँकी ३ उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्न शुक्रबार सिंहदरबार बोलाइएको थियो । तर शुक्रबार पनि यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन ।

नवराज अधिकारी, चिरञ्जिवि चापागाईं र कृष्णबहादुर कार्कीलाई शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि बोलाइएको थियो ।

शुक्रबार अध्यक्ष सिफारिस समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारी पनि उपस्थित थिएनन् । अधिकारी बिरामी परेर अस्पताल भर्ना भएको कारण अन्तरवार्ताता रोकिएको बताइएको छ ।

सर्टलिस्टमा परेर पनि यसअघि यी तीन उम्मेदवार अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतिमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन ।

त्यसपछि सरकारले नयाँ प्रक्रिया शुरु गर्न सिफारिस समिति गठन गरेको थियो । छनोटको सूचीमा परेका उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया शुरु गर्ने कानूनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

त्यसपछि अदालतले नयाँ प्रक्रिया शुरु नगर्न अन्तरिक आदेश दिएको थियो । अदालतको आदेशपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खुलेपछि सरकारले फेरि तीन उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update